Skip to main content

वेदनामा समयले छुरी धसेको त्यो रात

वेदनामा समयले छुरी धसेको त्यो रात
एकान्तमा तिमी र म सँगै बसेको त्यो रात
 
माया गर्ने अभियोगका अभियुक्त थियौँ हामी
अपराधमा समाजले पाता कसेको त्यो रात
 
यताउति छरिएका सपनाका टुक्राहरु
मनको सुन्दर बगैँचामा हुरी पसेको त्यो रात
 
वियोगमा मर्ने हो कि सँगै मरी सधैँ बाँच्ने
दुबिधाको भुँमरीमा हामी फसेको त्यो रात
 
हातमाथि हात राखी जीवन छाम्दै थिए 'निखिल'
आकाशबाट प्यारो एउटा तारा खसेको त्यो रात।