Skip to main content

पसिनाको धारा बगाई

पसिनाको धारा बगाई मिहिनेत गर्नुपर्छ
रगतमा डुबाएर बीजहरू छर्नुपर्छ
 
हाडमासु घोटिघोटी दुःख गर्ने गरिबले
एक छाक खान पनि अरूकै भर पर्नुपर्छ
 
रापी, गोडी, काटी, झाँटी मुखमा बाली आएपछि
हृदयमा ढुङ्गा राखी साहुको भाँडो भर्नुपर्छ
 
भाषणमात्र हैन अब काम गर्ने बेला आयो
दरिद्रले शोषणको महासागर तर्नुपर्छ
 
धरतीको छातीभरि जसले सुन फलाउँछ
बिडम्बना उसैले नै भोकै यहाँ मर्नुपर्छ