Skip to main content

उस्तै गाउँ

धेरै पछि गाउँ टेक्दा पनि
स्वागतमा त्यही अतीत उपस्थित छ।
 
कान्लामा उस्तै उदासी फुलिरहेका टाँकीहरू
पाखाभरि वेदना सुसाइरहेको सल्लेरी
उस्तै आतङ्क ओढेका अनुहारहरू
उदासीमा आकण्ठ डुबेका मनहरू।
 
उस्तै लाग्यो गाउँ
उस्तै छन् घरका छनाहरू
उस्तै छन् आङका नानाहरू
अनि उस्तै छन् जिन्दगीका तानावानाहरू
अपूरा सपनाहरूको बिस्कुन लम्पसारै छ आँगनभरि
फर्केका छैनन् सुखको आशा नासो सुम्पिएर
मुगलान भासिएका तन्नेरी छोराछोरी
गह्रौँ पाइलाले जिन्दगीको भारी बोक्दै
अझै घाँसदाउरा गर्दै छन् सकिनसकी बाआमाहरू
र पनि उनीहरूले अस्ताउन दिएका छैनन् अझै
सुखका सपनाहरूलाई आँखाबाट
चिनिसकेका छन् उनीहरूले
नाम नाम र आकार आकारका अभिवादन तेर्स्याउँदै
चुनावताका गाउँ छिर्ने सुकिला मान्छेहरूलाई पनि
सुदिन फर्कने असङ्ख्य सपनाको भेला डाकेर
अझै पनि जिन्दगीको उकालो चढिरहेछन् मान्छेहरू
जिन्दगीको ओरालो झरिरहेछन् मान्छेहरू।
 
धेरै पछि गाउँ टेक्दा पनि
स्वागतमा त्यही अतीत उपस्थित छ।