Skip to main content

म हराएको सूचना

छेउमै उभिएर
मैले आफूलाई निकै बेर खोजेँ तिमीभित्र
वरिपरि उत्साह उभिएका रुखहरू
मझेरीभरि पोखिएको गाउँको प्रेमिल सुगन्ध
माथिबाट आँखाका ढकनी च्यातेर
आश्चर्य चिहाइरहेका बुट्टेदार बादल
र एकान्तमाथि आक्रमण गर्दै कविता गरिरहेका कविहरू
हो, त्यति बेला पनि म आफैलाई खोज्दै थिएँ।
 
क्रमशः च्यातिँदै थियो निस्तब्धता
बोल्न बोल्न खोज्दै थिए रुखहरू
उभिन उभिन लाग्दै थियो आकारको आकृति
जीवनको मधुर लय सुलेल्न
लालायित थिए पत्थरहरू।
 
बिस्तारै घस्रँदो घाममा
अनुहार फेर्दै थियो– छट्टु बादल
बेआबाज हिँडिरहेथ्यो जीवन
छिना र हतौडीहरूको प्रेमपूर्ण आक्रमण बिच
एक्कासि मुस्कुरायौ तिमी
सँगै त थिएँ म पनि छेउमै।
 
एकैचोटि खसे बादलबाट फूलहरू
र समवेत गाउन थाले रुखहरू वरिपरिबाट–
 
ए कवि!
कविता खोज्न कतै टाढा जानु पर्दैन।