Skip to main content

समय चिन्तन

समय फुत्केर सिंहका क्रूर पञ्जाहरूबाट
मौन आतङ्क मच्चाइरहेछ बस्तीमा
हाहाकारको सिम्फोनी प्रिय सङ्गीत बनेको बेला
मेरो राष्ट्रिय गीत पार्श्वमा समेत सुनिँदैन कहीँकतै।
 
घाम झुल्कन्छ र सुनाउँछ― वेदनाको स्वरलहरी
हावा बहन्छ र फैलाउँछ― अनिष्टका खबरहरू
आकाश रुन्छ र चुहाउँछ― आँसुको बलेसी।
बिरुवामा लाग्दै लाग्दैनन्― आशाका चिचिला
न त गाउँछन् कुनै चरा र खोलाहरू
आस्था र उत्साहका गीत
कहिले ब्युझन्छन् सपनाहरू बेहोसीको लामो निद्राबाट
थाहा छैन !
 
सद्भावका पदचाप पर्खेर सुस्ताइरहेछन्
बाटाहरू अनन्तदेखि
आत्मीयताको गुन्जन कुरेर मुर्झाइरहेछन्
बस्तीहरू अनादिदेखि
सुसमयको आगमन आशामा
धानिरहेछन् जीवन मान्छेहरू युगौँदेखि।
झोलाभरि अनिश्चित भविष्य बोकेर स्कुल गएका नानी
अपुरा सपना भिरेर अरब छिरेका छोराछोरी
ग्रिनकार्डको बदलामा जिन्दगीकै हरियाली बन्दकी राखेर
सेतो हाँसु रोइरहेका आफन्त
सबैसबैलाई हेरिरहेछ देश चुपचाप चुपचाप।
 
म सोच्दै छु―
साँच्चै! देश मान्छे झैँ रुन सक्थ्यो भने―
कत्रो हुन्थ्यो होला क्रन्दनको भोल्युम
र कत्रो हुन्थ्यो होला आँसुको समुद्रको आयतन?