Skip to main content

बग्दै बग्दै खलङ्गा

म देशभित्रैको अनागरिक
हरेक साल बाध्य छु– महाकालीसँगै खलङ्गा बग्न
विवश छु टनकपुर बग्न
डुबेर चाँदनी दोधारा
म खोजिरहेछु मेरो माटो मेरो धरालत।
 
त्यसो त नागरिकता नामको जिनिस नभएको हैन मसँग
आफ्नै अभिभावकलाई छिमेकीले सम्पन्नतासँग साटेपछि
म रनभुल्ल छु
हिजोसम्म मार्क्स र माओ गाउने मेरा बा
किन आज हरिकीर्तनमा लीन छन्
कुर्सीमा बसेदेखि मेरा दाजुको शब्दकोशबाट
कसरी एकाएक बसाइँ सरे
‘विस्तारवाद‘,‘साम्राज्यवाद‘ जस्ता शब्दहरू
नत्र किन देख्दैनन् ती पारिघरेले पोखरीको पानी छोड्दा
मेरो घरखेत बगेको बालबच्चा बगेको
किन देख्दैनन् दिनदहाडै मैले लगाएको
मेरै खेतबारीको अन्न लुटिएको
परचक्री पाइलाले मेरो आँगनमा डिस्को नाच्दा
किन पर्दापछाडिबाट ताली पिट्छन्―
मेरै आफन्त भनाउँदाहरू ?
 
म आश्चर्यमा परेको छु।
र त देशभित्रैको अनागरिक म
हरेक साल महाकालीसँगै खलङ्गा बगिरहेछु बाध्यतामा
विवशतासँगै बगिरहेछु टनकपुर
घाँटी घाँटी डुबेर चाँदनी दोधारामा
म खोजिरहेछु मेरो माटो, खोजिरहेछु मेरो धरालत।