Skip to main content

बस्तीको कथा

अत्यासको भारी बोकेर हिँडिरहन्छ समय
दिनरात यसै बस्तीमा।

रगताम्मे छन् अखबारका पाना
स्तब्ध छन् टिभी स्त्रि्कन
शोक धुनमा अभ्यस्त छन् रेडियोहरू
उर्लेर पीडाको सुनामी
गरिरहेछ वेदनाको रोगन
बस्तीका क्यानभासहरूमा।
सखारै निस्केको सपनाहरूको ताँती
कुन एम्बुसमा पर्योा थाहा छैन
बाटो बिराएका आफन्तको पुनरागमनको आशा
कहिले मेटियो मान्छेको मनबाट थाहा छैन
थाहा छैन―
कहिले रेटियो सुदिन आगमनको कामना मनबाट
अनि थाहा छैन―
कहिले हरायो एकाएक परेवाको बथान गगनबाट।

मान्छेसँग त मान्छेले दिएका घाउको पीडाबाहेक के छ र !
समय पनि व्यथा नै बाँढिरहेछ सौगातको नाममा
जीवन बाँच्नुको भ्रममा
यसै गरी सुस्केरा गाइरहेछन् मान्छेहरू।

लाग्छ―
तम्तयार छ मान्छेभित्रको ज्वालामुखी विस्फोट हुन
समय पर्खिरहेछ चेतनाको अन्तिम आँधी
निर्णायक विद्रोहको धक्का सहँदै छ बस्ती।

बत्ती निभ्नुअघिको घनीभूत चमकजस्तै
यति बेला यो बस्ती
महाप्रलयअघिको शान्तिमा निर्लिप्त छ।