Skip to main content

मान्छे र देश

भीषण युद्ध मैदानमा
अधमरो छट्पटाइरहेको
एउटा मात्र योद्धाले
लासैलासको बिस्कुन बिचबाट
बिस्तारै टाउको उठाएर
पर परसम्म मान्छेको याचना गरेजस्तै
अथवा
शत्रुको आक्रमणको प्रत्याक्रमणमा
आफ्नो पुच्छर छोडेर भागेको
बिरुप माउसुलीजस्तै
एउटा : अधमरो योद्धा रोइरहेछ देश
एउटा : आर्त याचना गाइरहेछ देश
र गरिरहेछ शत्रुको
प्र
त्या
क्र


आफ्नै शरीरका अङ्गहरू गुमाएर।
 
हिजो―
घँसिनी दिदीका भारीमाथि मुस्कुराउने देश
गोठाला दाइका भाकाहरूका सुसेली हाल्ने देश
एकैछिन सुस्ताएर भन्ज्याङ र देउरालीतिर
कहिले लेकतिर उक्लिने देश
हिले बेसीतिर ओर्लने देश
 
आज―
समय―सतीदेवीको लास बनेर लादिएको छ मान्छेका काँधमा
कुहेर खसिरहेछन् अङ्गहरू
तर बनेका छैनन् कुनै शक्तिपीठ कतै
र रहेका छैनन् कुनै महादेव कतै
कथित शिवशक्ति स्वरुपले।
 
सायद समय यति बेला
मान्छे–चेतनामा बाण हान्ने
एउटा अर्को कामदेव खोजिरहेछ।