Skip to main content

स्मृतिमा : खस्रा हत्केलाहररू

 

 
रातभर सपना रूँघेको अनिँदो मन
आँखामा एक्लै बैँस बिताएका क्षणहरूको
बिस्कुन छ असरल्ल
बारीमा उमि्ररहेका एकपछि अर्का फूलहरू
गोडमेल गर्दागर्दै खस्रा भएका हत्केलाहरू
छैनन् अब मेरो शिरमाथि
मात्रै सुदूर स्मृतिमा हेरिरहेको छु म
मुजा परेको काल्पनिक अनुहार
मेरी हजुरआमाको।
 
शुभ्र हिमाली आकृति
टल्कन्छ मन भर्खर हिउँ पग्लेको पानीझैँ
किञ्चित छैन क्लेष
निर्मल, निर्झर स्नेहको झरना
सुक्यो एक मन तिर्खा नमेटिँदै
काकाकुल प्यास बनेर गर्जिरहेछ प्यास स्नेहको
तिम्रो अनुपस्थितिमा।
 
संसारको रीत भने पनि
सान्त्वनाका शब्दभन्दा बढी के अस्तित्व रहेछ र
मान्दोरहेनछ मन
धेरैपछि भक्कानिएर रोएँ म/बुझ्दाबुझ्दै रोएँ
आँसुका नदीले सम्भव छैन तिम्रो पुनरागमन
तिम्रा खस्रा हत्केलाहरूको मायालु स्पर्श
एउटा अपूरणीय अभाव बनेर बसिरहनेछ मभित्र
जीवन रहेसम्म
म रहेसम्म... ... ...।


(स्वर्गीय हजुरआमाको स्मृतिमा)