Skip to main content

हेटौँडा

समयको छालमा भीमफेदी बगेर
निक्कै तल आइपुगेको छ
हेटौँडा।
 
कानमा राप्तीको बतास र मुटुमा सिमभन्ज्याङ चिसो बोकेर
निरन्तर बाइरोडको बाटोमा धुलो उडाइरहेछ
चिरन्तन अभावसँग जुधिरहेछ
सडकको कालोपत्रजति मुखमै टाँसेर
बीभत्स अट्टहास गरिरहेछ
हेटौँडा।
 
नवलपुरको सिरानबाट स्मारक हाँसे पनि
पिप्ले माछापोखरीमा मनकामना अनुहार हेरे पनि
कर्रा र राप्तीसँगै निरन्तर बगे पनि
मकवानपुर गढी र चिसापानी गढीका भग्नावशेष
छातीमा टाँगेर
आफ्नै निरीहताको मौन विज्ञापन गरिरहेछ
हेटौँडा।
 
भैँसेको पहिरोमा बाबुको श्राद्ध ओढेर
सिमेन्ट उद्योगको धुलो अनुहारभरि दलेर
बन्द कपडा उद्योगको विशाल प्राङ्गणमा
नाङ्गै नाचिरहेछ
हेटौँडा।
 
सिरेटो काखी च्यापेर राप्तीरोडका पेटीहरूमा
वेदनाको आकाश ओढेर निदाउँने असफल प्रयास गरिरहेका
‘थरिथरिका सन्तान‘ देखेर सालिक भत्काइएको महेन्द्रचोक
फिस्स हाँसिरहेछ
हेटौँडा।