Skip to main content

समय पर्खँदा : समयको सँघारमा उभिएर २

मान्छेअनुहारहरूको एउटा कोलाज
डरलाग्दो आकृति सिर्जना गरिरहेछ
अराजकताको सँघार टेकेर
समय निर्बाध अट्टहास गरिरहेछ
रक्तपिपासु काकाकुलहरू
मडारिइरहेछन् हाम्रो आगतको आकाशभरि।
 
यो समय
भ्रातृत्व र सिर्जनाका लागि गर्भाधान गर्नुपर्ने समय
बारुदको खेती गर्दै र्छौँ हामी
प्रत्येक प्रहर
विष्फोट विभीषिकाको सन्त्रास बोकेर मनभरि
थाहा छैन कहाँ समाधिस्थ छन् बुद्धहरू।
 
मेरो आशाको सर्वोच्च हिमालभरि
निराशावादीहरू रिले दौड दौडिरहेछन्
समय खर्चेर सुसमयको प्रतीक्षामा
थाहा छैन कहिलेसम्म बाँच्नुको अभिनय गर्छौँ हामी।
 
अर्को साल
सायद घाम लाग्छ !
सबै अँध्यारोमा एकच्छत्र शासन गर्नेगरी
समयको सँघारमा उभिएर
अझै पनि समय नै पर्खिरहेछौँ हामी ... ... ...।