Skip to main content

रुखहरूलाई थाहै छैन

 
उभिनुको नाममा
ठिङ्ग उभिदिन्छन्
आत्मीयताको नाममा समग्रता हराएर
अनस्तित्वको पहाड ठडिदिन्छन्
तैपनि खेदको अनुभूति छैन
बन्नुको नाममा बन्दाबन्दै बिग्रिएर पनि
उसैगरी अग्लिरहन्छन्
रुखहरू।
 
ऊर्ध्वगामी यात्रार्थ
भर्यावङ बनेर उभिदिन्छन् रुखहरू
पाइतालाहरू एकपछि अर्का
गन्तव्यका टाकुरा टेक्छन्/रमाउँछन्
टेक्दाटेक्दै उच्चानुभवको मातले
मदमत्त मातिदिन्छन् पाइताला
हीनत्वबोधको भावले तैपनि ग्रसित हुँदैनन्
रुखहरू।
 
रुखहरूलाई थाहै छैन
उनीहरूले के पाए र गुमाए
गुमाउनुको प्राप्तिमा पनि
उसैगरी अडिग छन्
रुखलाई रुख रहन नदिएर
प्राप्तिको पहाड चढ्नेहरू
किन जहिले पनि वमन गर्छन्
असन्तोषका नदीहरू ?
 
रुखहरूलाई थाहै छैन
मान्छेले सपना बाँढेर फल चोरेको
रुखहरूलाई थाहै छैन
मान्छेले आश्वासन दिएर हाँगा काटेको
त्याग र सेवाका चिप्ला कुरा गरेर
मान्छे ढाल्दै छ रुख
रुखहरूलाई थाहै छैन
सन्त्रासको छायामा सास फेर्दै छु म
कतै रुखहरूले मान्छे नचिनून्
हाँगाभरि धारिला बन्चराहरू फलाएर
मान्छेको बस्तीतिर नपसून् रुखहरू ...।