Skip to main content

कविता लेखिरहेको कवि

जुनेली रातले
आफ्नो पूर्ण यौवनमा फक्रिएर
विपुल कौमार्य पस्किरहेको बेला
कवि
पोइला गएकी स्वास्नी सम्झेर
कविता लेखिरहेको छ।
 
रेडियो झ्याउरे/सोरठी जान्दैन
टेलिभिजन
लाखे/मारुनी नाच्दैन
ह्विस्कीविज्ञापन हेरेर
लोकल ठर्राको गिलास सुम्सुम्याउँदै कवि
कविता लेखिरहेको छ।
 
चौबन्दी/फरिया छैन
मुहारमा लाज/लालिमा छैन
व्यस्त सडकभरि
अर्धनाङ्गा तरुनी अङ्गहरू हेर्दै
कवि
कविता लेखिरहेको छ।
 
कविले
शब्द आँसु बहाएर
एक पेट खान मागेको थियो
एकसरो लाउन मागेको थियो
व्यथाका गाथा गाएर
मान्छेको बस्तीमा आउन मागेको थियो
चुहिएका मनका छानाहरू
छाउन मागेको थियो
मान्छे भएर
मान्छेको सहभावमा
मान्छेकै गीत गाउन मागेको थियो
विडम्बना कविले
न खान पायो न लाउन पायो
न मान्छे भएर
मान्छेको बस्तीमा आउन पायो
कवि भएर त कविले
भएको पनि गुमायो
पाएको पनि हरायो।
 
आज पनि विषादपूर्ण अनुहारभरि मृत्युयाचना बोकेर
कवि
निरन्तर कविता लेखिरहेछ
अहर्निश कविता लेखिरहेछ।