Skip to main content

विषय\प्रसङ्गले अर्को अर्थ नलागोस्

अघाउन्जेल एक आँखा हेर्न नपाउँदै
निर्माणाधीन घर खण्डहर बन्यो
आश्चर्यको सीमा नाँघेर
अद्यापि हेर्दै छौँ हामी
बारुदका पोका च्यापेर भरिरहेछन् परेवा बथान
एकपछि अर्का उडानहरू
बङ्ग्याउन नमिल्नुको अर्थमा
इतिहास शाश्वत हुन्छ भने
विषय/प्रसङ्गले अर्को अर्थ नलागोस्
यति बेला म
बुद्ध ऐतिह्यको प्रामाणिकता खोजिरहेछु।
 
एक आँखा सौन्दर्यपान गर्न नपाउँदै
हरिया डाँडापाखा रक्ताम्मे बने
आश्चर्यको देउराली नाघेर
अद्यापि हेर्दै छौँ हामी
रगतको गाढापनअघि निस्तेज
उदासी फक्रिरहेछन् लालीगुराँसहरू
सौन्दर्य सत्यापनको अर्थमा
फूल सुन्दर ठहरिन्छ भने
विषय/प्रसङ्गले अर्को अर्थ नलागोस्
यति बेला म
गुराँस सौन्दर्यको प्रमाणिकता खोजिरहेछु।
 
थाहा छैन
खै कसरी भत्कियो
मनदेखि मनसम्मको सेतु?
भाइहरू क्रमशः
एकअर्काको प्राणको दुस्मन बनिरहेछन्
सधैँसधैँ
पशुपतिनाथकै जिम्मा लगाएर देशलाई
अझै कति निस्पि्कक्री निदाएको स्वाङ रच्ने हो
विषय/प्रसङ्गले अर्को अर्थ नलागोस्
सत्ते भन्छु यति बेला म
रक्ताम्मे डाँडाहरूको हरियाली कल्पिरहेछु
राता लालीगुराँसहरूको सौन्दर्य कल्पिरहेछु।