Skip to main content

अनादि यात्रा

उक्लेर लामो उकालो
शिखर टेकेको विभ्रममा
मैले सफलताको झन्डा गाड्नुअगावै देखेँ
जिन्दगी बाटोभन्दा ठाडो उकालो रहेछ।
 
बाटोमा ससाना पोथ्राहरू थिए सहारार्थ
सहयात्री डोबहरू थिए पाइतालाका
उन्मुक्त सपना थियो शिखर टेक्ने
कदमकदममा उत्साहका फड्काहरू समेटेर
उकालो काटियो मृदुल्लासमा
किंकर्तव्यविमूढ अवस्थामा छु आज
शून्य लम्पसार छ अगाडि
खोजिरहेछु नीरवतामा
सहयात्री पाइतालाका डोबहरू
जिन्दगीको यात्रामा।

छिचोल्नै छ/काट्नै छ फेरि पनि
जिन्दगीको सुदुर नेटो
विषपात्र बोकेका सुन्दरीहरूको
कठिन मोहजाल नाघेर
गन्तव्य टेक्नु छ मैले
छिचोलेर भ्रामक सपनाहरूको मायाजङ्गल
चिरन्तन दौडिरहेछु
यात्रा अझै पनि जारी छ
सायद अनादिदेखि ... ...
... ... सायद अनन्तसम्म ... ...।